काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६.३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा २ हजार ४ सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा १ हजार ४ सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।
विभागको तथ्यांक अनुसार चैतमा मात्रै २ सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आर्थिक बर्षको सोही अवधिमा १ सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो ।
विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट क्षमताका १ हजार ७ सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन् ।
भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट १ सय किलोवाट क्षमताका ३ सय ८१, दक्षिण कोरियाबाट १ सय किलोवाट क्षमताका २ सय ४०, र इन्डोनोसियाबाट तीन वटा विद्युतीय सवारी साधान आयात भएका छन् ।
यस्तै, दक्षिण कोरियाबाट १ सयदेखि २ सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट २ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट दुई सयदेखि ३०० किलोवाट क्षमताका पाँच र बेलायतबाट दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
समीक्षा अवधिमा भारतबाट मात्रै ४ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएका छन् । पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरु आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ ।
७ अर्बका गाडी भित्रिए
चालू आर्थिक वर्षको ९ महिनामा करिब ७ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म २ हजार ४ सय ५१ वटा विद्युतीय सवारी आयातमा ६ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ ।
विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ९३ करोड १३ लाख ५९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा ४ अर्ब २९ करोड ६६ लाख ३१ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातबाट सरकारले १ अर्ब १६ करोड ५५ लाख २० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।



