काठमाडौं । ललितपुरको कुपण्डोलमा निर्माणाधिन समिट होटल र समिट अपार्टमेन्ट निर्माणबारे उठेका प्रश्नबाट चौधरी ग्रुपअन्तर्गतको सीजी डेभलपर्स पन्छिएको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै डेभलपर्सले आफू उक्त अपार्टमेन्टको ३० प्रतिशत हिस्साको साझेदार मात्रै भएको र यसको सञ्चालन र व्यवस्थापन आफ्नो नियन्त्रणमा नरहेको प्रष्टीकरण दिएको हो ।
अपार्टमेन्टले प्रचलित कानून र भवन निर्माणको मापदण्डविपरित निर्माण थाल्दा शुक्रबार सो क्षेत्र वरपरको जमीन भासिएको थियो । जमीन भासिएसँगै ती क्षेत्रको वस्ती नै जोखिममा परेका छन् । उक्त होटल र अपार्टमेन्ट निर्माणका लागि हालसम्म व्यवस्थापनले नक्सा पास र वातावरणीय प्रभाव मूल्यांकन समेत नगरेको भेटिएको छ ।
सीजीले जारी गरेको विज्ञप्तीमा उक्त अपार्टमेन्टको बाँकी ७० प्रतिशत हिस्सा रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उनीहरुका परिवारको नाममा रहेको भन्दै यसको व्यवस्थापनको जिम्मेवारी सञ्चित श्रेष्ठले लिएको जनाएको छ ।
सीजीले अहिले आफूहरुले काठमाडौं रेसिडेन्सी, सीजी हिल्स र माउण्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३) विकास गरिरहेकामा अहिले ललितपुरको भैंसेपाटीमा सीजी हिल्स प्रिमियमको व्यवस्थापन सञ्चालन सीजी डेभलपर्सले गरिरहेको उल्लेख गर्दै यी परियोजनाहरुले नेपालको रियल स्टेट सेक्टरमा छुट्टै पहिचान स्थापित गरेको दाबी समेत गरेको छ ।
शुक्रबारको घटनापछि वस्ती भासिएको सम्बन्धमा संसदमा समेत आवाज उठेको थियो । राप्रपा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले मापदण्डविपरित भवन बनाउनेलाई कारबाहीको माग गर्दै यसमा सरकार र ललितपुर महानगरपालिका समेत दोषी रहेको उल्लेख गरेका थिए ।



