भक्तपुर । बिस्केट जात्राकाे पहिलाे दिन भैरबको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा २३ जना घाइते भएका छन् । ढुंगा हान्ने १० जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
प्रहरीका अनुसार, मंगलबार बिहान करिव १ वजे रथ तान्ने क्रममा दत्तात्रय नजिक ढुंगा प्रहार भएको थियो। स्थानीयका अनुसार बिहान सबेरै दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका इँटा र ढुङ्गा छरपस्ट देखिएका थिए । मंगलबार सबेरै केही स्थानीयले सामाजिक सञ्जालमा त्यसको फोटो तथा भिडियो पोष्ट गरेका थिए ।
साेमवारसांझदेखि सुरु भएको विस्केट जात्राका क्रममा रथ तान्ने क्रममा १ बजेतिर ढुङ्गा हानाहान भएको थियो। प्रत्यक्षदर्शिका आनुसार बिहान ४ बजेसम्म ढुङ्गा हानाहान भएकाे थियाे । भक्तपुर प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार ढुंगा हानाहान हुँदा घाइते भएकाहरूकाे उपचार रातीनै भक्तपुर अस्पतालमा गरिएको थियाे ।
ढुङ्गा हानाहान गर्ने १० जनालाई प्रहरीले राति नै पक्राउ गरेको थियो। सिसी क्यामरा तथा अन्य माध्यमबाट थप ढुङ्गा हान्नेहरुकाे पहिचान गरी पक्राउ गर्ने प्रहरीले जनाएको छ। आठ रात र नौ दिनसम्म चल्ने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्रा बैशाख ५ गतेसम्म चल्नेछ ।



