काठमाडौं । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षामा बागमती प्रदेशका १ लाख १ हजार ७ सय ३३ जना विद्यार्थी सहभागी हुने भएको छ । शिक्षा विकास निर्देशनालयका अनुसार १३ जिल्लामा ४ सय ३४ वटा परीक्षा केन्द्रहरू तोकिएको हो ।
त्यस्तै केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष, निरीक्षक, परीक्षा सहायक, परीक्षा सहायक कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी १५ हजार ८ सय ८६ जना जनशक्ति खटाउने निर्देशनालयले जनाएको छ । यस्तै केन्द्राध्यक्ष ३ सय ३४ ,सहायक केन्द्रध्यक्ष ७ सय ३७,निरीक्षक ५ हजार ८६,परीक्षा सहायक १ हजार ६४,कार्यालय सहयोगी २ हजार ५५ र सुरक्षाकर्मी गरी ६ हजार ५ सय १० जना जनशक्ति खटिने भएका छन् ।
परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिका लागायतका आवश्यक सबै सामाग्री जिल्ला जिल्लामा पठाइएको छ । त्यस्तै केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण कार्य समेत सम्पन्न भई परीक्षा सम्बन्धी पूर्व तयारीको सम्पूर्ण काम सम्पन्न भएको बताइएको छ । एसईईको परीक्षा चैत १७ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने छ ।
बागमती प्रदेशमा सबैभन्दा काठमाडौंमा १ सय २३ र सबैभन्दा कम रसुवामा ५ वटा परीक्षा केन्द्र तोकिएका छन्। भुक्तपुरमा २३, ललितपुरमा ३५, काभ्रेपलाञ्चोकमा ४०, सिन्धुपाल्चोक र नुवाकोटमा २४/२४, धादिङमा २६, मकवानपुर २५, चितवन ४२, रामेछाप २२, दोलखा १९ र सिन्धुली २६ परीक्षा केन्द्र तोकिएका छन् ।
परीक्षामा काठमाडौंबाट ३६ हजार ५ सय ७७, भक्तपुरबाट ५ हजार ८ सय ५, ललितपुरबाट ९ हजार ८ सय ९९, काभ्रेपलाञ्चोकबाट ६ हजार ४ सय ३६, सिन्धुपाल्चोकबाट ३ हजार ९ सय ८५, नुवाकोटबाट ४ हजार ३ सय, रसुवाबाट ६ सय २८, धादिङबाट ५ हजार ३ सय ८६, मकवानपुरबाट ६ हजार ३ सय ३३,चितवनबाट १० हजार ८ सय ५६,रामेछापबाट ३ हजार २ सय २५, दोलखाबाट ३ हजार ६२ र सिन्धुलीबाट ५ हजार २ सय ४१ जना विद्यार्थी सहभागी हुँदैछन्।



