काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) को नियुक्ति आज हुँदैछ । वर्तमान आईजीपी धिरजप्रताप सिंह शुक्रबारबाट अवकाशमा जाने भएसँगै नयाँ आईजीपी नियुक्ति लगायतका निर्णय गर्ने एजेन्डासहित मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
केही दिन अघिमात्रै एआईजीमा बढुवा भएका ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरु नयाँ आईजीपीका दावेदार छन् । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन्।
आईजीपीका दाबेदारहरुमध्ये हाल मुख्यतया २ जनालाई मुख्य दाबेदारको रुपमा हेरिएको छ । वरियताको पहिलो नम्बरमा रहेका वसन्त कुँवरलाई आईजीपीको स्वभाविक दावेदार मानिएको छ । मन्त्रिपरिषद्ले वरियताकै आधारमा स्वभाविक निर्णय गरेको अवस्थामा उनी आईजीपी बन्नसक्ने देखिन्छ ।
तर, वरियताक्रम मिचिने अवस्थामा सबैभन्दा मुख्य दाबेदारको रुपमा श्यामलाल ज्ञवालीलाई हेरिएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलसँग नजिकको सम्बन्ध रहेका उनले पोखरेलमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहालसम्म पुग्न सफल भएको बताइन्छ । पूर्व आईजीपी ठाकुर ज्ञवालीका भाइ समेत रहेका श्यामलाल अहिले प्रधानमन्त्रीको पहिलो रोजाइमा रहेको बताइन्छ ।
ज्ञवाली एआईजी हुनुअघि कोशी प्रदेशको प्रमुख थिए । उनले काठमाडौं जिल्लाको नेतृत्व समेत गरेका थिए । एसपी हुँदा उनी वरियताको पहिलो नम्बरमा रहेकोमा एसएसपी बढुवा हुँदा पछि परेका थिए । त्यसैले पनि उनीप्रति प्रधानमन्त्री बढी लचक रहेको बताइन्छ ।



