काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना रहेको देखिएको छ । जनगणनाको नतिजा आज प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेका हुन् ।
उक्त तथ्यांक अनुसार हाल नेपालमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात ४८.९८ प्रतिशत र र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ अर्थात ५१.०२ प्रतिशत रहेको छ ।
गत २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जना रहेको थियाे ।
उक्त तथ्याङ्क अनुसार सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौंमा २० लाख ४१ हजार ५ सय ८७ जनसंख्या रहेको छ भने सबैभन्दा थोरै मनाङ जिल्लामा ५ हजार ६ सय ८५ जना रहेका छन् ।
जनगणना अनुसार देशमा ६६ लाख ६६ हजार ९ सय ३७ कूल परिवार बसोबस रहेको छ । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८ सय ४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन् ।



