काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र १ र बारा– २ मा वैशाख १० गते उपनिर्वाच हुने भएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले उपचुनावको मिति तय गरेको हो ।
यसअघि चितवन २ बाट निर्वाचित रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गर्दा त्यहाँ बैशाख १० गते उपनिर्वाचन गर्ने आयोगले निर्णय गरेको थियो। तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए ।
नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ । रिक्त भएको दुबै क्षेत्रमा १० वैशाखमै उपचुनाव गर्ने निर्णय गरेको हो ।
साेही कारणले गर्दा आयाेगले बैशाख १० गते निर्वाचन गर्ने निर्णय गरेकाे छ । साे अनुसार चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।
उक्त उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गर्ने समय प्रदान गरिएको छ भने मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) बमोजिमको मतदाता नामावलीको आधारमा दुई जिल्लाको उपनिर्वाचन सम्पन्न गर्ने निर्णय पनि गरेको आयोगले जनाएको छ ।



