काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
गत २०७९ साल फागुन १५ गते बसेको मन्त्रिपरिषद्को बैंठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिमा शहिद भएका शहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने र राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ।
जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन्।
यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन्। राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन्।



