काठमाडौं । राष्ट्रपति विद्यादेवी भन्डारीबाट स्थानीय तहका उम्मेदवारहरुको जरिबाना माफी मिनाहा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २७६ बमोजिम माफी मिनाहाको निर्णय गरेकी हुन् ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिबाना मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएर जरिबानामा परेका जनप्रतिनिधिहरूले गत माघ २२ गते गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई मिनाहाका लागि अनुरोधपत्र पठाएका थिए ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने सम्बन्धमा निर्वाचन आयोग गत भदौ निर्णय गरेको थियो ।




