काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल रमाना भएका छन् । मन्त्रिपरिषद्को निर्णयबाट श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका उनी आइतबार विभागबाट बिदा भएका हुन् । कात्तिक १६ गते विभागमा हाजिर भएका दाहालले बिदाइ अघि आफ्नो छोटो अवधिको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
९६ दिन मात्रै कार्यावधि रहेका उनले विभागमा रहँदा राजस्व चुहावट, विदेशी विनिमय अपचलन, भीसीटीएसमा गरेका केही काम र अन्य केही नीतिगत सुधारका कामहरु गरेको उल्लेख गरेका छन् ।
विवरण अनुसार यो अवधिमा राजस्व चुहावटतर्फ ६ वटा मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा ८ जनाविरुद्ध ६४ करोड ३१ लाख रुपैयाँ बराबरको बिगो मागदावी गरिएको छ । ६ करोड ९२ लाख बराबरको जरिवानाका लागि सम्बन्धित निकायमा लेखि पठाइएको छ । यो अवधिमा राजस्व चुहावटका १२४ वटा सूचना विभागलाई प्राप्त भएको विवरणमा उल्लेख छ ।
त्यस्तै, विदेशी विनिमय अपचलनतर्फ ६ जनाविरुद्ध ५२ लाख ३३ हजार रुपैयाँ बिगो मागदावी सहित ५ वटा मुद्दा दायर गरिएको छ । यो अवधिमा विदेशी विनिमय अपचलनका ६ वटा सूचना प्राप्त भएका थिए ।
भीसीटीएस अन्तर्गत यो अवधिमा ७६ कम्पनीलाई ५८ लाख १८ हजार रुपैयाँ जरिवाना गरिएको छ । हालसम्म उक्त प्रणालीमा १ लाख ९० हजार भन्दा बढी प्रयोगकर्ता रहेको जनाइएको छ ।



