काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा गरिएको नगद मार्जिनको व्यवस्था खारेज गरेको छ । बिहीवार राष्ट्र बैंकले सर्कुलर जारी गर्दै नगद मार्जिनको व्यवस्था हटाएको हो ।
राष्ट्र बैंकले एक वर्षदेखि आयातको प्रतिपत्रमा ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो । तर केही समय अघि निर्माण सामग्रीहरुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको थियो ।
अहिले विदेशी विनिमय सञ्चितिमा कमी हुँदै आएपछि बैंकले सबै प्रकारको नगद मार्जिनको व्यवस्था खारेज गरेकाे राष्ट्र बैंकले जनाएकाे छ । अब आयातका लागि व्यवसायीले कुनै पनि प्रकारको नगद मार्जिन राख्नु पर्ने छैन ।