काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिटेन्स २३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्ममा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको रेमिटेन्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको मंसिर मसान्त अवधीमा त्यस्तो रेमिटेन्स ६.३ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।
शोधनान्तर बचत करिव ४६ अर्ब
नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर) सम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक बर्षको ५ महिनामा शोधानान्तर स्थिति ३७ अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ५१ करोड रुपौयँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।



