काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता भएको छ। सोमवार दुई बैंकबिच सम्झौता सम्पन्न भएको हो ।
आज भएको सो सम्झौता पत्रमा लक्ष्मी बैंकको तर्फबाट अध्यक्ष रमण नेपाल र सनराइज बैंकको तर्फबाट अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गरेका छन् । दुई बैंकबीच डिडिए अनुसार स्वाप रेसियो कायम गर्ने सहमति भएको छ ।
हालसम्मको सहमति अनुसार अध्यक्ष पनि लक्ष्मीले पाउने र सीइओ पनि लक्ष्मीले पाउने भएको छ । मर्जर पछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक वा लक्ष्मी बैंक हुने निर्णय गरिएको छ ।
दुवै बैंकको शेयर दोस्रो बजारमा २ सयको रेसियोमा छ । लक्ष्मी बैंकको २ सय ६ रुपैयाँ हुँदा सनराइजको मूल्य २ सय २ रुपैयाँ रहेको छ ।
कस्तो छ वित्तीय अवस्था ?
मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड पुग्ने भएको छ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रहेको छ भने सनराइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात बैंकको पुँजीकोष ३३ अर्ब ३९ भन्दा बढि पुग्ने भएको छ ।
निक्षेप संकलन तर्फ हेर्ने हो भने कत्तिक मसान्तसम्ममा लक्ष्मीको १ खर्ब ४२ अर्ब रुपैयाँ छ भने सनराइजको १ खर्ब २८ अर्ब रुपैयाँ छ । मर्जरपश्चात सो बैंकको निक्षेप २ खर्ब ७०अर्ब नाघ्नेछ भने भने कर्जा लगानी २ खर्ब ५९अर्ब रुपैयाँ पुग्नेछ । हाल लक्ष्मी बैंकको कर्जा लगानी १ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ भने सनराइजको १ खर्ब २२ अर्ब रुपैयाँ छ ।
पहिलो त्रैमास अनुसार लक्ष्मी बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३६ पैसा छ भने सनराइज बैंकको १रुपैयाँ ६४ पैसा छ । लक्ष्मी बैंकको को प्रतिशेयर नेटवर्थ १ सय ५० रुपैयाँ ७३ पैसा छ भने सनराइजको १ सय ६४ रुपैयाँ ६३ पैसा छ ।



