काठमाडौं । प्रभु र सेञ्चुरी बैंकको एकिकृत कारोबारको मिति तोकिएको छ । यी दुबैं बैंक एक आपस मर्जर भई एकिकृत कारोबारको पुस २६ गतेदेखि गर्न लागेका हुन् ।
मर्जरपछि बन्ने बैंकको नाम प्रभु बैंक हुने भएको छ । सो नामबाट बैंकको एकिकृत कारोबार पुस २६ गतेदेखि गर्ने बैंकले जनाएको छ । यी दुबै बैंकले एकिकृत कारोबार प्रयोजनका लागि पुस २२ गते राति १० बजेदेखि पुस २६ गते बिहान ९ः४५ बजेसम्म दुवै बैंकको सम्पूर्ण शाखाबाट प्रदान गरिने बैंकिङ सेवाहरु बन्द हुने समेत जानकारी गराएको छ ।
साथै सो अवधिमा बैंकहरुको एटिएम, इन्टरनेट बैंकिंग तथा मोबाइल बैंकिंग सेवा समेत अवरुद्ध हुने बैंकले जनाएको छ ।
यी दुई बैंकबीच मंसिर २१ गते मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको थियो । सो सम्झौता अनुसार प्रभुले सेञ्चुरीलाई १ः१ रेसियोमा प्राप्ति गर्ने भएको छ । यी दुई बैंकलाई नेपाल राष्ट्र बैंकले पुस १९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।



