काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकको आजदेखि एकीकृत कारोबार सुरु भएको छ । कुमारी बैंक र एनसीसी बैंक एक आपस मर्ज भई आज पुस १७ गतेबाट एकिकृत कारोबार सुरु गरेसँगै वाणिज्य बैंकको संख्या २५ कायम भएको हो।
यस भन्दा पहिले बाणिज्य बैंक संख्या २६ रहेकाे थियाे भने कुमारी र एनसिसी दुबै बैंक एकआपसमा गाभिएपछि २५ मा सिमित भएकाे हाे । यसका साथै दुवै बैंक मर्जर भएपछि कुमारी बैंककै नामबाट आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।
गत मङ्सिर २५ गते दुवै बैंकले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत एकआपसमा गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यही पुस ६ गते एकआपसमा गाभिन दुबै बैंकलाई अन्तिम स्वीकृति दिएको थियो ।
यी दुबै बैंक एक बराबर एक स्वाप रेसियोमा गाभिएका हुन् । एकीकृत कारोबारपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसिसी बैंकका रमेशराज अर्याल बन्नुभएको छ । कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत रहेका छन् ।
एकीकृत कारोबारपश्चात् बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपैयाँ, कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुग्नेछ । गाभिएपश्चात् शाखा सङ्ख्या ३ सय ६, एटिएम सङ्ख्या ३ सय ४४, एक्स्टेन्सन काउन्टर ४७ र शाखारहित शाखा ६२ वटा पुग्नेछन् ।
सञ्चालक समिति गठन
मर्जरपछि कुमारी बैंकको नयाँ सञ्चालक समिति गठन भएको छ । आज एकीकृत कारोबार सुरु भएपछि गठन गरिएको नयाँ सञ्चालक समितिको अध्यक्षमा अमिरप्रताप राणा रहनुभएको छ । बैंकको सञ्चालकमा एनसिसी बैंकका पूर्वध्यक्ष चन्द्र बास्तोला तथा इमानसिङ लामा र कुमारी बैंकका कृष्णप्रसाद ज्ञवाली तथा महेश पोखरेल रहेका छन् ।



