काठमाडौं । गृह मन्त्रालयले राहदानी वितरण सहज बनाउन विज्ञको टोली गठन गरेको छ । मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको हो ।
अत्यावश्यक कागजपत्र लिने क्रममा वर्षौंदेखि सर्वसाधारणले सास्ती खेप्दै आएको गुनासोपछि मन्त्रालयले अग्रसरता देखाएको हो । टोलीले बुझाउने अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी र लाइसेन्स लिने क्रममा देखिएको सास्ती रोक्न कदम चाल्ने बताएका थिए । मन्त्रिपरिषद्को पहिलो बैठकले यसबारेमा निर्णयसमेत गरेको थियो । त्यस्तै बुधबार उप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको निरीक्षणमा पुगेका थिए ।



