काठमाडौं । गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदैछन् । प्रत्येक पुस १५ मा मनाइने यो पर्वलाई तोला ल्होसार पनि भन्ने गनिन्छ ।
गुरुङ समुदायले नयाँ वर्षका रूपमा तमु लोसारलाई मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाई र ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्यरूपमा मनाउने बताइएको छ । गुरूङहरूले आज आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
नेपालमा गुरुङसँगै तामाङ, शेर्पालगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँने गर्छन्। तर, उनीहरूले मनाउने ल्होसारको नाम भने फरक(फरक छ ।
तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ । सरकारले तमु ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।



