काठमाडौं । नेपाल ट्रेड यूनियन काँग्रेस (एनटीयूसी) को महाधिवेशन जेठ दोस्रो साता हुने भएको छ । काँग्रेसको शुभेच्छुक संगठनको रुपमा रहेको महासंघको मंगलबार र बुधबार बसेको कार्यसमिति बैठकले महाधिवेशन २०८० जेठ १२ देखि १४ गतेसम् मगर्ने निर्णय गरेको हो ।
यसका लागि राष्ट्रिय अध्यक्ष पुष्कर आचार्यको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । समितिका सदस्यमा महासंघमा आवद्ध सबै पेशागत ट्रेड युनियन (संघ) साथै महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरु छन् ।
बैठकले फागुन मसान्तसम्म आवद्ध सबै ट्रेड युनियनका सदस्यता निर्धारण गर्ने र चैत मसान्तभित्र संघहरुको अधिवेशन गरिसक्ने योजना बनाइएको छ । त्यस्तै, जिल्ला अधिवेशन बैशाख ९ गते र प्रदेश अधिवेशन बैशाख १८ गते गरिनेछ । यो कार्यमा सहजीकरणमा लागि केन्द्रीय प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ ।
बैठकले सरकारको निर्णय अनुरुप आगामी बैशाखदेखि अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा सहभागी गराउन स्थानीय स्तरमा श्रमिकको पञ्जिकरण गर्ने तथा उनीहरुका समस्या सम्बोधन गर्न श्रम सल्लाहकार समिति गठन गराउन पहल गर्ने निर्णय समेत गरेको छ ।
बैठकले अनुशासनहीन काम गरेको भन्दै महासंघका दुई जना राष्ट्रिय सल्लाहकारहरु रीता खनाल तथा कल्पना अधिकारीलाई पदमुक्त गर्ने तथा अनौपचारिक क्षेत्रकी उपाध्यक्ष आशा सिंह राठौरलाई निलम्बन गर्दै थप कारबाहीका लागि अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।



