काठमाडौं । नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङ शपथ लिने वित्तिकै निलम्वनमा परेका छन् । संघीय संसद् सचिवालयले मंगलबार सूचना भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका गुरुङको पद शपथ लिएको दिन (पुस ८) देखिनै निलम्वित अवस्थामा रहेको जनाएको हो ।
संघीय संसद सचिवालयका महासचिव भरत राज गौतमले सुचना जारी गर्दै भष्ट्राचार आरोपमा मुद्दा विचाराधिन रहेको सांसद उक्त पदमा कायम नरहने व्यवस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा रहेको भन्दै उनी निलम्वनमा परिसकेको बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।
अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । गुरुङलाई मात्रै ३१ करोडको बिगो तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग लागेका उनी पनि संसद् सदस्यमा चुनिएका हुन् ।



