काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको न्यायका लागि पहल गर्ने बताएका छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई आजै उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी दिएका थिए ।
उनले सो जिम्मेवारी पाएसँगै पहिलो निर्णय नै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साल साउन ११ गते बलात्कारपछि हत्या भएको थियो।
उनले आफू स्वतन्त्ररूपमा कसैलाई विभेद नगरी बराबरी रूपमा कार्यसम्पादन गर्ने अधिकार सबैलाई प्रदान गर्ने बताए । हरेक निर्णय स्वतन्त्र र विश्वसनीयरूपमा गरेर प्रशासनका माध्यमबाट जनताका लागि न्याय दिइने उहाँको प्रतिबद्धता छ । साझा नीति तथा कार्यक्रम बनाएर काम गर्ने सम्झौताका आधारमा आफूहरू सरकारमा सहभागी भएको जनाउँदै उनले सरकारमा रहेर पनि आम जनताको मुद्दामा वाचापत्रद्वारा प्रतिबद्धता जनाएअनुसार प्रखररूपमा आवाज उठाइरहने बताए ।
साथै उनले आफू एजेन्डासहित सरकारमा आएको र ती एजेण्डाले केही दिनमा सार्वजनिक गर्ने समेत उल्लेख गरेका छन् ।



