काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन उपप्रधानमन्त्रीले शपथ लिने भएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्रीले शपथ लिने सहमति भएको हो ।
प्रधानमन्त्रीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने सहमति भएको छ ।जसअनुसार उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ ।
रविले गृह तथा नारायणकाजीले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय पाउने तय भएको छ । अन्य मन्त्रीहरु भने विनाविभागीय हुने बताइएको छ । शीतल निवासमा पठाइएको सूचीअनुसार प्रधानमन्त्रीसहित माओवादीबाट २ जना, एमालेबाट ४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना तथा जनमत पार्टीबाट १ जना मन्त्री बन्नेछन् ।



