images
images

पर्यटन मन्त्री श्रेष्ठले सार्वजनिक गरे ६ महिने कार्यकालको प्रगति विवरण


  • 310
    SHARES
  • २०७९ पौष ११ गते सोमबार

    पर्यटन मन्त्री श्रेष्ठले सार्वजनिक गरे ६ महिने कार्यकालको प्रगति विवरण

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। सोमबार उनले आफुले नेतृत्व सम्हालेदेखि विदाई हुँदासम्म आफुले गरेको विवरण सार्वजनिक गरेका हुन् ।  उनले २०७९ असार १३ गते गतेदेखि मन्त्रालयको नेतृत्व सम्हालेका थिए । 

     मन्त्रालयले कोभिड–१९ महामारीबाट थलिएको पर्यटन पुनरुत्थानको रणनीतिक कार्ययोजना तयार गर्नेदेखि अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा अमेरिकालगायत मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारीलगायत महत्वपूर्ण काम गरेको छ ।

    निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रीको जिम्मेवारी सम्हालेको १ सय ८३ दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन, दिगो पर्यटन विकासको रणनीतिक कार्ययोजना तयार गर्नेदेखि अन्तर्राष्ट्रिय जगतमा हवाई सम्पर्क सञ्चालन विस्तारका साथै हवाई पूर्वाधारमा समेत महत्वपूर्ण काम भएको छ । 

    मन्त्री श्रेष्ठको नेतृत्व र पहलमा १ सय ८३ दिनको अवधिमा सम्पादन गरिएका प्रमुख कार्य सार्वजनिक गर्दै मन्त्रालयले पन्ध्रैँ पञ्चवर्षीय योजना, दीगो विकासको लक्ष्य तथा सरकारको नीति तथा कार्यक्रमले निर्दिष्ट गरेबमोजिम पर्यटन प्रवद्र्धन, पुरातत्व एवम संस्कृति संरक्षण र नागरिक उड्डयनको समग्र विकासमा मन्त्रालयले प्रभावकारी भूमिका खेलेको उल्लेख गरिएको छ ।
       
    पर्यटन पूर्वाधार सहित समग्र वकिासका लागि पर्यटन दशकको अवधारणा अघि सारिएको छ । नेपाल सरकारले सन् २०२३ देखि २०३२ लाई नेपाल पर्यटन दशकका रूपमा मनाउने निर्णय गरेकाले उक्त अभियानलाई सफल बनाउन नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजनाको रुपरेखा तयार गरी सार्वजनिक गरिएको छ । अमेरिकी, स्वीजरल्याण्ड, रुवाण्डालगायतका मुलुकसँग हवाई सम्झौताको तयारी अन्तरिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । 

    त्यस्तै नेपालको समग्र पर्यटन, हवाई तथा सांस्कृतिक क्षेत्रमा सहकार्यको सम्भावनाबारे नेपालस्थित विदेशी नियोगका राजदूतसँग सम्भावित सहकार्यको पहल गरिएको छ । यसबीचमा भारत, नाइजेरिया, पोल्याण्ड, कतार, मलेसिया, इटालीलगायत मुलुकका राजदूतसँग छलफल गरिएको छ । विदेशमा नेपालको पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउनेबारेमा विभिन्न मुलुकमा रहेका नेपाली राजदूतसँग सामूहिक छलफल गरिएको प्रगति विवरणमा उल्लेख छ ।

    कोभिड महामारीले सबैभन्दा धेरै असर गरेको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याई कार्यान्वयन अघि बढाउनु, पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन नेपाल पर्यटन दशक घोषणाजस्ता केही महत्वपूर्ण कामको सुरुवात गरिएको छ । महामारी पश्चात पर्यटनक्षेत्रको विकास र प्रवद्र्ध्नका लागि नेपालको पर्यटन क्षेत्र पुर्नउत्थानसम्बन्धी ७४ बँंदे कार्ययोजना तयार गरी कार्यन्वयन गरिएको तथा पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्नयोग्य छ भन्ने सन्देश अन्तरिाष्ट्रय बजारमा प्रवाह गर्ने कार्यक्रम सञ्चालन गरिएको छ ।

    नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गरी काम अघि बढाइएको छ । राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको योगदानलाई चीरकालसम्म जिवित राख्न उहाँले गरेको योगदानको कदरस्वरुप रु एक लाख राशिको तीन जनालाई प्रदान गर्ने गरी शङ्खधर साख्वा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ ।
        
    दाङ र चितवनको भरतपुर विमानस्थलमा ७२ सिटे जहाज अवतरण गर्न सक्ने गरी धावनमार्ग विस्तारको कार्य अघि बढाइएको छ । काठमाडौँ, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे सरोकारवालासँग छलफल गरी आवश्यक पूर्वाधार तयार गरेर रात्रिकालीन पदयात्रा सुरु गर्ने चरणमा रहेको छ । 

    रात्रिकालीन सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुर्नजीवन पाउनेछन् । हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।  

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा गरी आगामी जनवरी १ मा उद्घाटन गर्ने मिति तय गरिएको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी अन्योलको अन्त्य भएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषदले  विज्ञ समूह गठन गरी अध्ययन प्रतिवेदन तयार गरेको छ । 

    अन्तर्रािष्ट्रय नागरिक उड्डयन सङ्गठनको महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै उड्डययन क्षेत्रलाई सुरक्षति, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पारिएको छ ।

     


    images
    images

    Logo