काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। सोमबार उनले आफुले नेतृत्व सम्हालेदेखि विदाई हुँदासम्म आफुले गरेको विवरण सार्वजनिक गरेका हुन् । उनले २०७९ साल असार १३ गतेदेखि मन्त्रालयको नेतृत्व सम्हालेका थिए ।
मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो छ महिनाको कार्य प्रगतिमा स्वदेशमा रोजगारी सिर्जना, वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, व्यावसायिक सीप विकास तथा तालिम विस्तार र सेवा प्रवाहमा फड्को मारेको दाबी गरिएको छ ।
आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारीको व्यवस्थापन, सामाजिक सुरक्षाको दायरा बिस्तार, प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत विविध कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी बेरोजगारी समस्या समाधान खोज्न आफ्नो ध्यान केन्द्रित भएको बताए ।
श्रम बजारमा प्रवेश गर्ने सम्पूर्ण जनशक्तिलाई स्वदेशमा नै रोजगारी उपलब्ध गराउने उद्देश्यले उनीहरुको क्षमता विकास गरी व्यावसायिक सीप तथा तालिम प्रदान गर्ने कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
बेलायतमा नेपाली स्वास्थ्य श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउन गत भदौ ६ मा नेपाल र बेलायतबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको, रोमानियामा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले त्यहाँबाट रोजगार सम्झौता प्राप्त गरेपछि प्रवेशाज्ञा लिन भारत जानुपर्ने अवस्थालाई अन्त्यगरी अस्थायीरुपमा काठमाडौँमा रोमानियन मिसन स्थापना गरी सरलीकरण गरिएको उनले बताए ।
वैदेशिक रोजगारीसम्बन्धी सेवालाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधिका माध्यमबाट सेवा प्रवाह गरिएको, श्रम स्वीकृति तथा पुनःश्रम स्वीकृतिको कामलाई पूर्णरुपमा अनलाइन प्रणालीमा आबद्ध गरिएको मन्त्रालयले जनाएको छ । यसबाट श्रम स्वीकृतिका लागि लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका साथै सातवटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने कार्य अगाडि बढिरहेको प्रगति विवरणमा उल्लेख छ । अनौपचारिक तथा स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन सामाजिक सुरक्षा कार्यविधि संशोधन गरी उनीहरुलाई सो प्रक्रियामा सहभागी गराइएको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका साथै राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन ‘मार्सल टिम’ तथा ‘शीघ्र प्रत्युत्तर टोली’ गठन तथा २४ घण्टा गुनासो सुन्ने गरी मन्त्रालयमा श्रम कल सेन्टर स्थापना गरिएको उहाँले बताउनुभयो ।
मन्त्री कुँवरले आफूले छ महिनाका अवधिमा गरेका सुधारका प्रयासबाट मुलुकको समग्र रोजगारीमा सुधार आउने, वैदेशिक रोजगारको व्यवस्थापनमा सुधार, असल श्रम सम्बन्धको विकास, युवाले व्यावसायिक सीप तथा तालिमको विकास हुने दाबी गरे ।
सबै श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउने, मन्त्रालय मातहतका निकायले प्रदान गर्ने सेवा प्रवाह सरलता, सहजता, पारदर्शीतासँगै सुशासन प्रवर्द्धन हुने उनको विश्वास छ ।



