काठमाडौं । प्रतिनिधिसभाका कूल १ सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उनले प्रधानमन्त्री बन्न सफल भएका छन् । उनको नियुक्तिसँगै निर्वाचन परिणाम प्राप्त भएपछि विकसित राजनीतिकरूपमा देखिएको अन्योल स्वतः सकिएको छ ।
पछिल्लो निर्वाचनमा मतका आधारमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो शक्तिका रूपमा स्थापित भएका हुन् । २०६४ सालमा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा तथा २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री भएका थिए । उनले दोस्रो कार्यकालमा आफूले जनअपेक्षाअनुसार काम गर्नसकेको सार्वजनिकरूपमा नै बताउँदै आएका छन् ।
नवनियुक्त प्रधानमन्त्री दाहाललाई नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।
उनले २०६५ सालको साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । यस्तै, २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बन्नुभएका उनले २०७४ जेठ २३ गतेसम्म कार्यकारी प्रमुखका रूपमा रहनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।
नवनियुक्त प्रधानमन्त्री दाहालको जन्म २०११ सालमङ्सिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिए । २०२६ सालमा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षामा उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरेका थिए । उनले एम पीएसम्मको अध्ययन गरेका छन् ।
नवनियुक्त प्रधानमन्त्री दाहालले कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गरेका हुन् ।२०३८ सालदेखि २०६३ सालसम्म भूमिगत अवस्थामा रहँदा उनको कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उहाँ आफू पुष्पकमलभन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्नुहुन्छ ।
२०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गर्नुभएका दाहालको विसं २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उनका तीन छोरी र एक छोरामध्ये एक छोरी र छोरा प्रकाशको निधन भइसकेको छ ।
उनले नारायणी विद्या मन्दिर मावि शिवनगर (२०२९) साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा (२०३३–०३५) सालमा अध्यापन गरेका थिए ।२०२८ साल मा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता प्राप्त गरेर आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएका दाहालले रामबहादुर थपा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो ।
उनले २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । उनले २०३८ साल मा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भई २०४० मा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।
२०४१ साल मा नेकपा (मशाल)को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री भएका थिए ।
यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । २०५७ साल मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भएका थिए ।
२०५८ साल मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका दाहाल २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए ।
२०६९ साल मा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभएका प्रधानमन्त्री दाहाल २०६९ सालमा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनले २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भएका थिए । यस्तै, २०७८ पुसमा सम्पन्न भएको पार्टीको आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए ।
साथै उहाँले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ । अध्यक्ष दाहालका ‘नेपाली क्रान्तिका समस्या’ (भाग १, २ र ३) ‘सांस्कृति, कला र सौन्दर्य चिन्तन’, ‘प्रचण्डका छानिएका रचना’ खण्ड १ र २ तथा ‘प्रचण्डका छानिएका सैन्य रचना’लगायतका पुस्तक प्रकाशित छन् ।
उनले २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । २०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा–५ बाट निर्वाचित हुनुभएको थियो । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित प्रचण्ड २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा ३ सय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
यस्तै, २०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार दुई सय ७६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झण्डै दुई तिहाइ मत प्राप्त भए पनि पूरा कार्यकाल चल्न सकेन ।
२०७७ साल पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपामा फुट आयो । सर्वोच्च अदालतको आदेशपछि तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट २०७८ असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भयो । सो सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्यो ।
यस्तै, २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले गोरखा क्षेत्र नं २ बाट २६ हजार एक सय नौ मत प्राप्त गरी विजयी भएका हुन् । सत्तारूढ गठबन्धनमा सहमति नभएपछि आजै नेकपा (एमाले) सहितका दलको सहमतिमा अध्यक्ष दाहाल प्रधानमन्त्री बनेका हुन् ।



