काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमवार हुने भएको छ । आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । यो सँगै दाहालले अब पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने सोमवार गर्ने भएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीको दाबी पेश गरेका छन् ।
राष्ट्रपति विद्यादेवी समक्ष माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका थिए ।
अब प्रचण्डले प्रधानमन्त्रीका रुपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्नेछन् ।
प्रचण्डलाई समर्थन गर्दै प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति भवनमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक जनमुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतका नेता पुगेका थिए ।



