काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयले सवारी चालककोे १६ वटा गल्तीमा १ हजार ५ सय जरिवाना गर्ने भएको छ ।
उपत्यका ट्राफिक कार्यालयका अनुसार कसुरलाई क, ख, ग, घ, ङ गरी पाँचखण्डमा छुट्टाएर जरिवाना गर्दै आएकोमा ‘ङ’ खण्डमा रहेको १६ गल्तीका लागि सो रकम बराबरको जरिवाना गर्ने भएको हो । यस अघि उक्त ‘ङ’खण्डकै गल्तिमा पनि प्रहरीले ५ सय रुपैयाँ मात्रै जरिवाना गर्दै आएको थियो । चैत ३ गतेदेखि प्रहरीले उक्त जरिवाना शुल्क बढाएको हो ।
अब ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा, सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी रोकेर राखेमा, सवारी मोड्न निषेध गरिएको ठाउँमा मोडेको, सडकमा गलत साईड तर्फबाट सवारी चलाएको पाइएमा प्रहरीले १ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ ।
त्यस्तै, एकतर्फी सडकमा सो विपरित सवारी चलाएमा, अवस्था ठीक नभएको सवारी चलाएमा राति बत्ति नबाली सवारी चलाएमा सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा नम्बर प्लेट नराखी सवारी चलाएमा पनि सो रकम बराबरको जरिवाना लाग्नेछ ।
उपत्यका ट्राफिक कार्यालयका अनुसार पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा, सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा, लापरवाहीका साथ सवारी चलाएमा सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा, स.चा.अ.प., स.द.कि., स.इ.प.साथमा नराखी सवारी चलाएमा ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा र ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा ध्वनि संकेत दिएमा यस्तो जरिजाना हुनेछ ।



