काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने जनाएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान गरेको हो ।
मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ÷ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो ।
विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्रभन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिई प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणको अनुरोध छ ।
नेपाल भित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए÷नभएको यकिन गर्न सकिने हुँदा सोही अनुरूप यकिन गरेर मात्र खरिद गर्नु हुनका साथै मोबाइल आयातकर्ता र विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्ने समेत प्राधिकरण निर्देशन दिएको छ ।



