काठमाडाैं । नेपाल राष्ट्र बैंकले नेपालीहरूको समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेको देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय साक्षरतासम्बन्धी आधारभूत अध्ययनअनुसार ५७.९ प्रतिशत जनसंख्यामा पुगेको हो ।
राष्ट्र बैंकका अनुसार वाग्मती प्रदेशमा सबैभन्दा बढी वित्तीय साक्षरता रहेको देखिएको छ भने सबैभन्दा कम मधेस प्रदेशमा सबैभन्दा कम रहेको पाइएको छ । वाग्मती प्रदेशमा ६४.५ प्रतिशत रहेको छ भने मधेसमा ५२ प्रतिशतमा सिमित भएको पाइएको छ ।
बैंकका अनुसार वित्तीय साक्षरताको तीन आयामको रुपमा रहेको वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२.९ प्रतिशत रहेको पाइएको छ । त्यस्तै महिलाको तुलनामा पुरुषमा ७.५ प्रतिशत विन्दु बढीमा वित्तीय साक्षरता पाइएको छ । युवा पुस्तामा वित्तीय साक्षरता अझ बढी रहेको अध्ययनले जनाएको छ
१८ देखि ३० वर्ष उमेर समूहमा वित्तीय साक्षरता अंक ६३.२ प्रतिशत रहेको पाइएको छ भने ६० वर्ष कटेकाहरुको वित्तीय साक्षरता जम्मा २७.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
रोजगार, औपचारिक क्षेत्रमा काम गर्ने व्यक्ति, उच्च सीप चाहिने पेशा र कृषि क्षेत्र भन्दा बाहेकका औद्योगिक क्षेत्रमा काम गर्ने व्यक्तिको वित्तीय साक्षरता तुलनात्मक रुपमा धेरै रहेको छ ।



