काठमाडौं । काठमाडौँ महानगरपालिले रुद्रमती किनारस्थित देवीनगरमा डोजर चलाएको छ।बुधबार काठमाडौं महानगरपालिकाले सो क्षेत्रमा निर्माण गरिएका संरचनाहरु भत्काएको हो ।
महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुको भागाभाग भएको थियो ।यसका साथै डोजरले आफूले व्यापार गर्दै आएको ठाउँ भत्काएपछि उनीहरुले सामान ओसार्न थालेका छन् ।
रुद्रमती किनारमा रहेको करिब १६ रोपनी सार्वजनिक जग्गा सुकुम्वासीका नाममा अतिक्रमण भएको छ । अतिक्रमणकारीले यस क्षेत्रमा करिब पाँच दर्जन संरचना निर्माण गरेका छन् ।
राजधानीको सभ्यताको स्रोतका रुपमा रहेका नदी किनारका सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध संरचना निर्माण गर्दा प्रदूषण बढ्ने गरेको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पनि काठमाडौँ उपत्यकाका नदी किनारमा अतिक्रमण भएको सार्वजनिक जग्गा खाली नभएसम्म नदी सफाइमा काम गर्न असहज हुने बताउँदै आएको छ ।
महानगरपालिकाले यसअघि वाग्मती नदी किनारलगायत अवैध संरचना पनि हटाउन सुरु गरिसकेको छ । नक्सापास नभई बनेका अन्य संरचना पनि महानगरपालिकाले हटाएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।



