काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रतिनिधि सभाको सदस्यमा शपथ लिने बाटो खुलेको छ । वुधबार सर्वोच्च अदालतले लामिछाने विरुद्ध परेको रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकोले लामिछानेको शपथ लिने बाटो खुलेको हो । लामिछानेले निर्वाचनामा भाग लिँदा मनोनयनदेखि सांसद पदमा सपथ नगराउन सम्मको माग दावी लिएर सर्वोच्चमा रिट परेको थियो ।मंसिर २८ गते संवैधानिक इजलासमा दर्ता भएको उक्त रिट बुधबारको संवैधानिक इजलासमा पेसी चढेको थियो ।
बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले सांसद पदको शपथ नगराउन माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।



