काठमाडौं । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ स्थित सामुदायिक वनमा सुक्खा बन्दरगाह प्रस्ताव भएपछि यहाँको जग्गाको मूल्य आकासिएको छ ।सुक्खा बन्दरगाहसँगै महाकाली नदीमा बनेको चार लेनको पुल र छ लेनको पहुँच मार्ग बनेपछि यहाँको जग्गाको भाउ बढेको हो ।
केही वर्षअघिसम्म प्रतिकट्ठा ३ लाख रुपैयाँमा पाइने जग्गाको मूल्य अहिले ८० लाख रुपैयाँ पुगेको यहाँका स्थानीयवासी बताउँछन् । २०२२ सालमा बैतडीको पुर्चौडीबाट बसाइँसरी दोधारा–चाँदनी नगरपालिका–१ आएका ५० वर्षीय कृष्णदत्त पन्तले ३ लाख रुपैयाँ पर्ने जग्गाको मूल्य ८० लाख रुपैयाँ पुगेको बताए । “२०२२ सालमा बैतडीबाट यहाँ आउँदा वन फँडानी गरेर बस्ती बसेको थियो ।” उहाँले भन्नुभयो, “त्यो बेला भारतको बाटो भएर मात्र महेन्द्रनगर जान सकिन्थ्यो ।” उनले अहिले छ लेनको पक्की सडक र छेउमै सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँको मुहार फेरिएको बताए ।
महाकाली नदीमा पक्की पुल निर्माणसँगै दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रसम्म करिब नौ सय मिटर छ लेनको सडक बनेपछि यस क्षेत्रको जग्गाको मूल्यसमेत आकासिएको उहाँले बताए । “पहिले यहाँ प्रतिकट्ठा जमिन २/३ लाख रुपैयाँमा बिक्री हुन पनि मुश्किल हुन्थ्यो, सुक्खा बन्दरगाह बन्ने भएपछि अहिले ८० लाख रुपैयाँमा प्रतिकट्ठा जमिन बिक्री भइसक्यो ।” उनले भने, “यहाँ सुक्खा बन्दरगाह बन्ने भएपछि जग्गा खरिदका लागि धेरै आउने गरेका छन ।”
पक्की सडकमा पाँच कट्ठा जमिन पर्दा ४० लाख रुपैयाँ मुआब्जा रकम पाएको उनले बताए । भौगोलिकरुपले विकट मानिएको दोधारा–चाँदनीमा विकाससँगै सेवा तथा सुविधा पनि थपिँदै गएको स्थानीय बताउँछन् । स्थानीय गजीराम महरले सुक्खा बन्दरगाह बन्ने भएपछि यो क्षेत्रमा चहलपहल बढेको बताए ।
“एउटा टोली आएर यहाँ रुख छपानको काम गरेर गइसकेको छ ।” उनले भने, “महाकाली नदीमा चार लेनको पुल बनेपछि यहाँको मुहार फेरिएको छ सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँको जग्गाको मूल्य बढेको छ ।” उनले अहिले सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रमा ८० लाख रुपैयाँदेखि ९० लाख रुपैयाँसम्म प्रतिकट्ठा बिक्री भइरहेको बताए ।
दोधाराचाँदनी नगरपालिका–१ का वडाध्यक्ष विक्रम चन्दले सुक्खा बन्दरगाह बन्ने भएपछि यो क्षेत्रको जग्गाको मूल्य बढेको बताए । “बन्दरगाह बन्ने खबरले जग्गाको मूल्य बढेको छ, यो क्षेत्रका बासिन्दाले रोजगारी पाउने ठूलो आशा छ ।” उनले भने, “भारतीय पक्षले पनि सुक्खा बन्दरगाहसम्म जोड्ने सडकको काम सुरु गरिसकेको छ ।” उहाँले पछिल्लो समय यस क्षेत्रको आर्थिक गतिविधि बढेको बताए।
२०६४ सालमा सरकारले दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । अहिले बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको छ । सरकारले चालु आर्थिक वर्षमा प्रक्रिया अघि बढाउन १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।



