काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ । देशकै ठूलो दलको रुपमा उदाएको काँग्रेसले सरकारको नेतृत्व गर्ने व्यक्ति छनोटका लागि आज निर्वाचन गर्न लागेको हो ।
संसदीय दलको निर्वाचन गर्न गठित समितिले आज बिहान ८ देखि १० बजेसम्मका लागि मतदानको समय तोकेको छ । सो मतदान प्रक्रियामा प्रतिनिधिसभामा काँग्रेसका तर्फबाट निर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसदहरुले मतदान गर्न पाउनेछन् ।
यसका लागि पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापा चुनावी मैदानमा छन् । देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का लगायतको समर्थन छ । त्यस्तै, थापालाई प्रभावशाली नेता शेखर कोइराला, युवा नेताहरु विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतको समर्थन छ ।
यो निर्वाचनलाई काँग्रेसभित्र पुस्तान्तरण बहसको परीक्षणको रुपमा हेरिएको छ । यद्यपि निर्वाचनको अंकगणित प्रधानमन्त्री देउवाको पक्षमा सहज देखिएको छ ।



