काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ ।
प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभावी झुण्ड्याइएका उपकरण हटाउने छ । प्राधिकरणले पहिलो चरणमा त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, केशरमहल, लाजिम्पाट, नारायणगोपाल चोक र बुढानीलकण्ठ क्षेत्रका पोलमा राखिएको तार हटाउने जनाएको छ ।
प्राधिकरणले यसअघि कात्तिक १५ गते र मंसिर १८ गते सूचना प्रकाशन गरी तार हटाउन आग्रह गर्दा समेत हालसम्म सेवा प्रदायक संस्थाहरुबाट तार व्यवस्थापन नभएको भन्दै आफै हटाउने चेतावनी दिएको हो । प्राधिकरणले तार काट्दा हुने नोक्सानीका लागि प्राधिकरण जिम्मेवार नहुने समेत जनाएको छ ।




