images
images

विदेशी विनिमय सञ्चिति बढ्न थाल्यो, २० प्रतिशतले बढ्यो रेमिट्यान्स 


  • 359
    SHARES
  • २०७९ मंसिर २९ गते बिहीबार

    विदेशी विनिमय सञ्चिति बढ्न थाल्यो, २० प्रतिशतले बढ्यो रेमिट्यान्स 

    काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ कात्तिक मसान्तमा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ पुगेको हाे ।  

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई १० खर्ब ९१ अर्ब २२ करोड पुगेको छ । 

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई १ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ । 

    २०‍.४ प्रतिशतले बढ्यो रेमिट्यान्स 

    नेपाल भित्रिने रेमिटेन्स बढेको छ। चालु आर्थिक वर्ष २०७८/७९ को ४ महिनाको अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ७८ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ९५ हजार १ सय ९६ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७ हजार ४ सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो । 

    समीक्षा अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब १७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो । 


    images
    images

    Logo