काठमाडौं । शेयर बजार आज सामान्य अंकले घटेको छ । नेप्से २.५७ अंकले घटेर १ हजार ८ सय ९९ दशमलव ७० विन्दुमा झरेको छ । आज २ सय ४८ स्क्रिपको ७७ करोड ७० लाख रुपैयाँ बराबरको २० लाख ५८ हजार कित्ता शेयर किनबेच भएको छ ।
सोमबार कारोबारको अन्तिम समय सुधारिएको शेयर बजार मंगलबार भने निरन्तरता पाउन सकेको छैन् । आज नेप्से र कारोबार दुवैमा गिरावट आएको छ । वाणिज्य बैंकहरुले ब्याजदर नघटाउने निर्णय गरेसँगै शेयर बजार केही प्रभावित भएको छ । गत कात्तिकदेखि बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छैनन् ।
मंगलबार ९० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।
आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समिट लघुवित्तको ४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



