काठमाडौं । जीवन बीमाको पहुँच ४३.७८ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्म कुल जनसंख्याको ४३.७८ प्रतिशतले जीवन बीमा गरेका हुन् । यो सङ्ख्या म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहितको हो ।
गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या ३०.३८ प्रतिशत रहेको थियो । नेपालको जनसंख्यालाई ३ करोड ३ लाख मानेर उक्त पहुँचको दर गणना गरिएको हो ।
म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ५० लाख ४१ हजार जनाले जीबन बीमा गरेका छन् । म्यादी जीवन बीमालेखसहित भने कुल बीमितको संख्या १ करोड ३३ लाख जनामा बीमाको पहुँच पुगेको छ । यो ३९.७९ प्रतिशत हो ।
म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई हटाउँदा भने अहिलेसम्म जनसंख्याको १६.५९ प्रतिशतले मात्रै जीवनबीमा पोलिसी किनेको बीमा प्राधिकरणले जनाएको छ ।
कात्तिक मसान्तसम्ममा बीमा कम्पनीले कुल ५९ अर्ब ३७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा २.५३ प्रतिशतले कम हो । एक वर्षमा जीवन बीमालेख संख्या भने ४२.५५ प्रतिशतले बढेको छ ।
गत वर्षको यहि अवधिमा बीमा कम्पनीहरुले जारी गरेको जीवन बीमालेख संख्या ९५ लाख ७ हजार थियो । अहिले यस्तो संख्या ४६.६५ प्रतिशतले बढेर १ करोड ३९ लाखमा पुगेको छ ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या भने गत वर्षको भन्दा ६.७८ प्रतिशतले घटेको छ । कात्तिक मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ९ लाख १९ हजार वटा पोलिसी जारी गरेका छन् ।



