काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ ।नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप ०.४ र कर्जा १.३ प्रतिशतले मात्रै बढेको देखिएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप १.२ र कर्जा ७.७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा भने असोजमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ८.२ प्रतिशतले र कर्जा ५.४ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दति निक्षेपको अंश क्रमशः सात दशमलव छ प्रतिशत, २६.७ प्रतिशत र ५९.६ । अघिल्लो आर्थिक बर्षमा यस्तो अंश क्रमशः ७.७ प्रतिशत, ३४.४ प्रतिशत र ५०.४प्रतिशत थियो । असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ प्रतिशत छ ।
पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये संस्थागत क्षेत्रतर्फ ६३ दशमलव नौ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.१ प्रतिशत छ । यो अवधिसम्ममा वाणिज्य बैंकको कर्जा प्रवाह १.२ प्रतिशत, विकास बैंकको कर्जा प्रवाह २.६ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाले गरिरहेको कर्जा लगानीमध्ये ६६ दशमलव सात प्रतिशत कर्जा घरमा र १२ दशमलव २ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । तीन महिना अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले बढेको छ ।
त्यस्तै थोक तथा खुद्रा व्यापार क्षेत्रको कर्जा २.२ प्रतिशत, निर्माण क्षेत्रको कर्जा १.७ प्रतिशत र कृषि क्षेत्रको कर्जा ०.८ प्रतिशतले बढेको छ ।



