images
images

विदेशी विनिमय सञ्चिति बढ्न थाल्यो, १६ प्रतिशतले बढ्यो रेमिट्यान्स 


  • 379
    SHARES
  • २०७९ कार्तिक ३० गते बुधबार

    विदेशी विनिमय सञ्चिति बढ्न थाल्यो, १६ प्रतिशतले बढ्यो रेमिट्यान्स 

    काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ । 

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ०१ अर्ब ६० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।

    १६ प्रतिशतले बढ्यो रेमिट्यान्स 

    चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १६.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक बर्षको तीन महिनामा सो बराबर बढ्न पुगेको हो ।  समीक्षा अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ सय २३.१ प्रतिशतले वृद्धि भई १ लाख ४७ हजार ९ सय ३२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७ हजार ८ सय ६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।

    त्यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई ३ खर्ब १० अर्ब ४३ करोड रुपैयाँ प्राप्त भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो । 

    शोधन्तर स्थितिमा सुधार

    विदेशमा रोजगारीमा गएका नेपालीले पठाएको विप्रेषण तथा आयातमा गरिएको कडाइका कारण शोधन्तर स्थितिमा सुधार आएको छ । देशबाट बाहिरिनेभन्दा भित्रिने रकममा वृद्धि भएसँगै सरकारले राहतको श्वास फेर्न पाएको छ ।

    चालु आर्थिक बर्षको तीन महिनामा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको थियो । सरकारले लिएको नीतिका कारण महत्वपूर्ण सुधार भएको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको असोज मसान्तसम्ममा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा छ ।

    समीक्षा अवधिमा चालु खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३४.८ प्रतिशतले वृद्धि भई २ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ९२ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ५  अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।



    images
    images

    Logo