काठमाडौं । असोज महिनामा जीवन बीमा कम्पनीहरुको बिमाशुल्क संकलन ११ प्रतिशतले घटेको छ । बीमा प्राधिकरणको विवरण अनुसार भदौ महिनाको तुलनामा असोजमामा जीवन बीमा कम्पनीहरुको बिमाशुल्क संकलन ११.४५ प्रतिशतले घटेको हो ।
प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले असोज महिनामा मात्रै ९ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत भदौ महिनामा यस्तो रकम १० अर्ब ९८ करोड रुपैयाँ रहेको थियो । यो गत महिनाको तुलनामा ११ प्रतिशत कम हो । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले असोज महिनासम्ममा ३५अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
१९ कम्पनीले संकलन गरेको कुल बिमाशुल्क मध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । सो कम्पनीले असोज महिनासम्ममा १० अर्ब ४ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा एलआइसी नेपालले ४ अर्ब ५१ करोड रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सले ४ अर्ब ३८ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, सो अवधिमा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले ४० करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।



