काठमाडौं । विकास बैंक र फाइनान्स कम्पनीहरुले मंसिरमा निक्षेपको व्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर एशोशियसन र फाइनान्स एशोशियसनको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।
मंसिरका लागि विकास बैंकहरुले मुद्दती निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको छ भने फाइनान्स कम्पनीहरुले ०.१५ प्रतिशतदेखि ०.२० प्रतिशतसम्म ब्याजदर घटाउने निर्णय गरेका छन् ।
हाल विकास बैंकहरुले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याज दिँदै आएका छन् भने फाइनान्स कम्पनीहरुले साढे १३ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् । मंसिरदेखि सो व्याजदर घट्नेछ ।
मंसिरका लागि बाणिज्य बैंकहरुले भने व्याजदर नघटाउने निर्णय गरेका छन् । मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । हाल वाणिज्य बैंकको निक्षेपको व्याजदर १२.१३ प्रतिशत रहेको छ ।



