images
images

पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज नाफा साढे ४९ अर्ब


  • 321
    SHARES
  • २०७९ कार्तिक ९ गते बुधबार

    पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज नाफा साढे ४९ अर्ब

    काठमाडौं । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरुले निरन्तर दबाब दिइरहेका छन् ।

    वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याएपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका हुन् । गतवर्षको तुलनामा यसवर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरुले यसको समाधान तत्काल हुनुपर्ने माग गर्दै आएका छन् ।

    नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आर्थिक बर्ष) को पहिलो दुई महिनामा कर्जाको ब्याजदर औसत ८.५७ प्रतिशत रहेकोमा चालु आर्थिक बर्षको सोही अवधिमा १२.०६ प्रतिशत पुगेको छ । जुन ३.४९ प्रतिशत विन्दुले बढी हो ।

    तर ब्याजदर वृद्धिले वाणिज्य बैंकको खुद नाफामा भने सकारात्मक प्रभाव देखिएको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद ब्याज नाफा २८.४४ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको त्रैमासमा ४९ अर्ब ६२ करोड ४३ लाख ९० हजार रुपैयाँ ब्याज नाफा आर्जन गरेका छन् भने गत आर्थिक बर्षको सोही अवधिमा यस्तो नाफा ३५ अर्ब ६५ करोड ८६ लाख ७८ हजार रुपैयाँ थियो ।

    चालू आर्थिक बर्षको समीक्षा अवधिमा सबैभन्दा बढी ब्याजबाट नाफा आर्जन गर्नेमा नबिल बैंक अगाडि छ । बैंकले यस अवधिमा ३ अर्ब ६७ करोड ७१ लाख ७९ हजार रुपैयाँ ब्याजबाट नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा नबिल बैंकको ब्याज नाफा २ अर्ब २४ करोड १५ लाख २७ हजार रुपैयाँ थियो । 

    ब्याजबाट बढी नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक दोस्रो र ग्लोबल आईएमई बैंक तेस्रो नम्बरमा छन् । यी दुई बैंकले असोज मसान्तसम्ममा क्रमशः ३ अर्ब ४१ करोड ४ लाख ९६ हजार रुपैयाँ र ३ अर्ब २० करोड २७ लाख ४ हजार रुपैयाँ खुद ब्याजबाट नाफा कमाएका छन् । 

    राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज नाफा ३ अर्ब १८ करोड ३८ लाख ९९ हजार रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले क्रमशः २ अर्ब १२ करोड ९५ लाख रुपैयाँ, २अर्ब १२ करोड ८५ लाख रुपैयाँ र २ अर्ब ५ करोड ४२ लाख रुपैयाँ ब्याजबाट नाफा आर्जन गरेका छन् । 

    प्रभु र कुमारी बैंकले १ अर्ब ९७ करोड रुपैयाँ कमाएका छन् भने नेपाल बैंक लिमिटेडले १ अर्ब ९० करोड रुपैयाँ खुद ब्याजबाट नाफा गरेको छ । एभरेस्ट बैंक र प्राइम कमर्सियल बैंकले १ अर्ब ८८ करोड रुपैयाँ ब्याज नाफा आर्जन गरेका छन् । साथै, कृषि विकास बैंकले १ अर्ब ८३ करोड रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८० करोड रुपैयाँ र मेगा बैंकले १ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज नाफा आर्जन गर्न सफल भएका छन् ।

    समीक्षा अवधिमा सानिमा बैंकको ब्याज नाफा आर्जन १ अर्ब ६० करोड रुपैयाँ छ भने लक्ष्मी बैंकको १ अर्ब ५१ करोड रुपैयाँ छ । माछापुच्छ्रे, सिटिजन्स र सनराइज बैंको ब्याज नाफा क्रमशः १ अर्ब ४७ करोड, १ अर्ब ४५ करोड र १ अर्ब ४३ करोड रुपैयाँ छ । 

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४१ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब २९ करोड रुपैयाँ, बैंक अफ काठमाण्डूले १ अर्ब २२ करोड रुपैयाँ, सिभिल बैंकले  १ अर्ब १५ करोड रुपैयाँ र एनसीसी बैंकले १ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज नाफा गरेका छन् ।  त्यसैगरी सेञ्चुरी कमर्सियल बैंकले सबैभन्दा कम १ अर्ब ७ करोड ६२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    समीक्षा अवधिमा सबैभन्दा बढी ब्याज नाफा बढाउनेमा एभरेष्ट बैंक छ । एभरेष्ट बैंकले गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको समीक्षा अवधिमा ४२.९ रतिशतले ब्याज नाफा बढाएको छ । त्यस्तै, लक्ष्मी बैंकले ४१.३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ३९.९४ प्रतिशत र नबिल बैंकले ३९.४ प्रतिशतले ब्याज नाफा बढाएका छन् ।

    नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ भदौमा ५.८९ प्रतिशत रहेकामा २०७९ भदौमा १०.१ प्रतिशत छ । २०७९ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.६ प्रतिशत छ ।


    images
    images

    Logo