काठमाडौं । जीवन बीमाको पहुँच ४४.०५ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार भदौ मसान्तसम्म कुल जनसंख्याको ४४.०५ प्रतिशतले जीवन बीमा गरेका हुन् । यो सङ्ख्या म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहितको हो ।
गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या २८.१६ प्रतिशत रहेको थियो । नेपालको जनसंख्यालाई ३ करोड ३ लाख मानेर उक्त पहुँचको दर गणना गरिएको हो ।
म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ५१ लाख २० हजार जनाले जीबन बीमा गरेका छन् । म्यादी जीवन बीमालेखसहित भने कुल बीमितको संख्या १ करोड ३३ लाख जनामा बीमाको पहुँच पुगेको छ । यो ४०.४६ प्रतिशत हो ।
म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई हटाउँदा भने अहिलेसम्म जनसंख्याको १६.८७ प्रतिशतले मात्रै जीवनबीमा पोलिसी किनेको बीमा समितिले जनाएको छ ।
भदौ मसान्तसम्ममा बीमा कम्पनीले कुल ३३ अर्ब ९० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा १.८२ प्रतिशतले कम हो ।
एक वर्षमा जीवन बीमालेख संख्या ५७.४६ प्रतिशतले बढेको छ । गत वर्षको यहि अवधिमा बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या ८७ लाख ९६ हजार थियो । अहिले यस्तो संख्या ५९.३३ प्रतिशतले बढेर १ करोड ४० लाखमा पुगेको छ ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या भने गत वर्षको भन्दा ५.८९ प्रतिशतले घटेको छ । भदौ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ४ लाख ४५ हजार वटा पोलिसी जारी गरेका छन् ।



