काठमाडौं । भदौ महिनामा जीवन बीमा कम्पनीहरुको बिमाशुल्क संकलन २७ प्रतिशतले घटेको छ । समितिले सार्वजनिक गरेको विवरण अनुसार साउन महिनाको तरलनामा भदौमा जीवन बीमा कम्पनीहरुको बिमाशुल्क संकलन २७.११ प्रतिशतले घटेको हो ।
समितिका अनुसार जीवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै १० अर्ब ९७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत साउन महिनामा यस्तो रकम १५ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको थियो । यो गत महिनाको तुलनामा २७ प्रतिशत कम हो । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा २६अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
सो अवधिमा कम्पनीहरूले प्रथम बीमाशुल्कवापत २ अर्ब ६० करोड रूपैयाँ र नविकरणीय बीमाशुल्क बापत ८ अर्ब ३७ करोड ३७ लाख रूपैयाँ संकलन गरेका छन् ।
१९ कम्पनीले संकलन गरेको कुल बिमाशुल्क मध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । सो कम्पनीले यस अवधिमा २ अर्ब ८५ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ६१ करोड रूपैयाँ र एलआईसी नेपालले १ अर्ब ३१ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको समितिले जनाएको छ ।
त्यस्तै, सो अवधिमा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले ११ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।



