काठमाडौं । बडादशैंको तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो।
चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्।
भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गर्ने गरिन्छ। विधिपूर्वक उनको आराधना गर्नाले सबै किसिमका बाधा व्यवधान हट्ने र मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।
पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो। दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय–समयमा विभिन्न रूप लिएको पुराणहरूमा उल्लेख छ।
आश्विन शुक्ल प्रतिपदाका दिन स्थापना गरिएको घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ। यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ।



