काठमाडौं । कुमारी र एनसीसी बैंक मर्जरमा जाने सहमति गरेका छन् । सोमवार दुई बैंकबिच सम्झौता सम्पन्न भएको हो ।
दुई बैंकबीच १ बराबर १ को अनुपातमा मर्जरमा जाने निर्णय गरेका छन् । अर्थात कुमारी बैंकको १ कित्ता शेयर बराबर एनसीसी बैंकको १ कित्ता नै हुनेगरि स्वाप रेसियो तय गरिएको छ । । सो सम्झौता पत्रमा कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले हस्ताक्षर गरेका छन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन् भने कुमारीका रामचन्द्र खनाल बरिष्ठ डेपुटी सीईओ हुने सहमति भएको छ।
सो मर्जर पछि कुमारी बैंककै नाममा एकिकृत कारोबार सुरु हुने सहमति भएको छ । दुवै बैंकको शेयर दोस्रो बजारमा २ सय भन्दा कम छ । कुमारी बैंकको १ सय ८६ रुपैयाँ हुँदा एनसीसीको मूल्य १ सय ८४ रुपैयाँ छ । १:१ रेसियोमा मर्जर गर्दा कुमारीले २ रुपैयाँ मूल्य गुमाउनेछ । तर, मर्जरपछि पनि कुमारीले आफ्नै नाम पाउनेछ ।
यसअघि बंगलादेश बैंकलाई मर्ज गर्दा नबिलका शेयरधनीहरुले ठूलो मूल्य चुकाएका थिए । बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई, हिमालयन र सिभिल, मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरमा पनि नाम पाउनेले ठूलो मूल्य चुकाउनुपरेको थियो
कस्तो छ वित्तीय अवस्था
मर्जरपछि कुमारी बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने भएको छ । हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रहेको छ भने एनसीसी बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको छ । मर्जर पश्चात कुमारी बैंकको पुँजीकोष ३७ अर्बभन्दा बढि पुग्ने भएको छ ।
निक्षेप संकलन तर्फ हेर्ने हो भने भदौ मसान्तमा एनसिसीको १ खर्ब ३० अर्ब रुपैयाँ छ भने कुमारीको १ खर्ब ७३ अर्ब रुपैयाँ छ । मर्जरपश्चात सो बैंकको निक्षेप ३ खर्ब ३ अर्ब ना३नेछ भने भने कर्जा लगानी २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । हाल कुमारी बैंकको कर्जा लगानी १खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ भने एनसीसीको १ खर्ब १८ अर्ब रुपैयाँ छ ।
जगेडा कोषमा कुमारी बैंकको ४ अर्ब ६१ अर्ब रुपैयाँ छ भने एनसीसीको ३ अर्ब ८४ करोड रुपैयाँ छ । मर्जर पछि जगेडा कोष ८ अर्ब ४५ करोड रुपैयाँको हुनेछ । कुमारी बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ छ भने एनसीसी बैंकको १८ रुपैयाँ छ । कुमारी बैंकको को प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैयाँ छ भने एनसीसीको १ सय ४७ रुपैयाँ छ ।



