काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजदर १५.२५ प्रतिशतसम्म पुगेको छ । बैंकहरुले असोजदेखि लागु हुनेगरी प्रकाशन गरेको नयाँ ब्याजदर तालिका अनुसार निक्षेपको ब्याजदर सो बराबर पुगेको हो ।
वाणिज्य बैंकहरुले यो महिनाका लागि मुद्दती खातामा १२.१३ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । त्यस्तै, राष्ट्रिय स्तरका विकास बैंकहरुले १३ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । त्यस्तै, फाइनान्स कम्पनीहरुले १३.४७ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । क्षेत्रीय स्तरका विकास बैंकहरुले भने १४.२५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।
रेमिट्यान्स निक्षेपमा १ प्रतिशतसम्म ब्याजदर धेरै दिनुपर्ने व्यवस्था अनुसार अब वाणिज्य बैंकमा १३.१३, विकास बैंकमा १४ तथा फाइनान्स कम्पनीमा १४.४७ प्रतिशतसम्म ब्याजदर दिनेगरी ब्याजदर तोकिएको छ । यस अनुसार क्षेत्रीय स्तरका विकास बैंकले १५.२५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।
बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर बढाउँदै गर्दा बचत खाताको ब्याजदर समेत स्वतः बढेको छ । मुद्दती र बचत खाताको ब्याजदरबीच ५ प्रतिशत भन्दा बढीको अन्तर हुन नसक्ने व्यवस्था अनुसार अब बचत खाताको ब्याजदर वाणिज्य बैंकमा ७.१३ प्रतिशत, विकास बैंकमा ८ प्रतिशत, फाइनान्स कम्पनीमा ८.४७ प्रतिशत र क्षेत्रीय विकास बैंकमा ९.२५ प्रतिशत ब्याजदर पुगेको छ । तर, बैंकहरुले न्यूनतमभन्दा धेरै समेत ब्याजदर तोकेका छन् ।



