images
images

शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा, ८.२६ प्रतिशतले बढ्यो महँगी


  • 466
    SHARES
  • २०७९ भाद्र ३० गते बिहीबार

    शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा, ८.२६ प्रतिशतले बढ्यो महँगी

    काठमाडौं । साउन महिनामा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा रहेको छ । बिहिवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको विवरण सो बराबर घाटा हुन पुगेको हो । गत वर्षको साउनमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको छ ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई ८० करोड ३ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ । 

    मूल्य वृद्धि ८.२६ प्रतिशतले बढ्यो

    साउनमा मूल्य वृद्धि ८.२६ प्रतिशतले बढेको छ । गत वर्ष साउनमा मूल्य वृद्धि ४.३५ प्रतिशतले बढेको थियो । २०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ ।

    सबैभन्दा कम महँगी हिमाली क्षेत्रमा बढेको छ । हिमाली क्षेत्रमा ६.६४ प्रतिशतले मूल्य बढेको छ भने काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशतले महँगी बढेको छ ।

    गत वर्ष हिमालमा ३.५८ प्रतिशत, काठमाडौंमा ३.७० प्रतिशत, तराईमा ४.११ प्रतिशत र पहाडमा ५.६३ प्रतिशतले मूल्य बढेको थियो ।


    images
    images

    Logo