काठमाडौं । नेपाल हस्तकला महासङ्घले कोरोना नियन्त्रणका लागि जनहितकारी कार्यमा संलग्न रहँदै आएको राष्ट्रिय आविस्कार केन्द्रलाई आज रु एक लाख आर्थिक सहयोग गरेको छ ।
महासङ्घका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले आविस्कार केन्द्रबाट कोभिड–१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि सञ्चालित कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै आर्थिक सहयोग गरिएको जानकारी दिए ।
महासङ्घले राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरेको उक्त रकम ग्लोबल आइएमई बैंक लिमिटेड नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरेको जनाएको छ ।
सो सहयोगले कोभिड–१९ न्यूनीकरणमा थप सहयोग पुग्ने विश्वाससमेत महासङ्घले लिएको छ ।
महासङ्घले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि थापाथली प्रसूति गृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताललगायतलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।



