काठमाडौं । फेसबुकले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट माथि २ वर्ष प्रतिबन्ध लगाएको छ ।
फेसबुकले ट्रम्पका गतिविधिहरुले फेसबुकको नियमको गम्भीर उल्लंघन गरेको जनाएको छ ।
गत जनवरी महिनादेखि फेसबुक र इन्स्टाग्रामले ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएकोमा उक्त बन्देजलाई २ वर्षमा सीमित गर्ने निर्णय फेसबुकले गरेको हो ।
ट्रम्प समर्थकले अमेरिकी संसदमा मच्चाएको हिंसा तथा घटनाका सम्बन्धमा ट्रम्पका आपत्तिजनक अभिव्यक्ति पश्चात् फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतले ट्रम्पमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।
डोनाल्ड ट्रम्पले भने आफूमाथि सोसल मिडियाले गरेको प्रतिबन्ध आफूलाई राष्ट्रपति चुनावमा मतदान गर्ने दशौँ लाख मतदातामाथिको दुर्व्यवहार भएको टिप्पणी गरेका छन् ।
फेसबुकका अनुसार ट्रम्पमाथिको दुई वर्षे प्रतिबन्ध गत जनवरी ७ देखि नै लागू हुनेछ ।
दुई वर्षको अवधिमा ट्रम्पबाट उत्पन्न हुने सार्वजनिक सुरक्षामाथिको चुनौतीलाई मूल्यांकन गरिने र अवस्थामा सुधार नआएमा निलम्बनलाई लम्ब्याउन सकिने बताइएको छ ।
फेसबुकले आफूमाथि २ वर्षको प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक भएसँगै ट्रम्पले आफू भविष्यमा पुनः राष्ट्रपति बनेर ह्वाइट हाउसमा आएमा फेसबुक सीईओ मार्क जुकरबर्ग र उनकी पत्नीसँग डिनर नगर्ने भन्दै जुकरबर्गसँगको सम्बन्ध समाप्त भएको बताएका छन् ।
ट्रम्पमाथि २ वर्षको प्रतिबन्ध लगाउने फेसबुकको निर्णयले सन् २०२४ को राष्ट्रपतीय चुनाव अगावै ट्रम्पले फेसबुकमा पुनरागमन गर्नसक्ने देखिएको छ ।



