काठमाडौं । बिहीबारदेखि सुरु भएको ‘गाँजा खेती सचेतना अभियान’ देशभर फैलिएको छ । गाँजाको महत्वबारे आम जनतामा चेतना भिवृद्धि गर्न तथा गाँजाको व्यवसायिक खेती तथा प्रयोगमा अहिले लाग्दै आएको प्रतिबन्ध फुकुवा गरी व्यवसायिक गाँजा खेती, अनुसन्धान तथा विकासमार्फत् वैदेशिक व्यापार अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत् सो अभियान चलाइएको हो ।
पूर्वसचिव भीम उपाध्यायको अग्रसरतामा चलाइएको सो अभियान अहिलेसम्म ६९ जिल्लामा पुगिसकेको छ । अब बाँकी जिल्लाका साथै गाउँ/नगरपालिका र वडास्तरमा पुर्याउन लागेको पूर्वसचिव उपाध्यायाले जानकारी दिए । सामाजिक सञ्जालमार्फत् चलाइएको सो अभियान गाउँपालिका र वडा स्तर हुँदै टोल टोलसम्म पुर्याउने र यसमा जनमत सिर्जना गर्ने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ ।
नेपालमा गाँजाको व्यवसायिक खेतीका लागि सम्भावनायुक्त स्थान मानिन्छ । विश्वभर खेती हुने गाँजामध्ये नेपालको गाँजालाई विश्वभर राम्रो मानिन्छ । विश्वमा गाँजा व्यापारको हिस्सा ठूलो रहेकोले यसको निकासीको सम्भावना निकै राम्रो रहेको समेत उपाध्यायाको भनाई छ । यसको व्यवसायिक खेती र निर्यातले प्रत्येक नेपाली धनी बन्नसक्ने आधार बन्ने समेत उनले बताए ।
गाँजालाई वैध मान्दा यसले देशको अर्बौं रुपैयाँ खर्च बचत हुने समेत उपाध्यायको भनाई छ । अहिले गाँजा खेतीको नियन्त्रण र यसको व्यापारमा रो कलगाउन मात्रै राज्यले वार्षिक सवा अर्व रुपैयाँ खर्च गर्ने गरेको उनको भनाइ छ । पूर्वसचिव उपाध्यायका अनुसार अहिले गाँजा तस्करीको आरोपमा हजारौं हजारौं नागरिकहरु जेलमा छन् । तीमध्ये गम्भीर अपराध गरेका बाहेक गाँजाको कारोबार गरेकै आधारमा जेल परेकालाई छोड्दा समेत राज्यको अर्बौं खर्च जोगिन्छ ।
त्यसो त, यसअघि नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले गाँजाको व्यवसायिक खेती र बिक्रीको सम्बन्धमा व्यवस्था गर्न गैरसरकारी विधेयक संसदमा दर्ता गराएका थिए । त्यस्तै, विरोध खतिवडाले यही सन्दर्भमा संसदमा संकल्प प्रस्ताव दर्ता गराएका थिए । वाग्मती प्रदेशसभामा केशव स्थापितले पनि यससम्बन्धी कानून ल्याउन पहल गरेका थिए ।
अहिले शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री भएपछि यो सम्बन्धमा झनै सहज हुनसक्ने पूर्वसचिव उपाध्यायको भनाइ छ । ‘उहाँले पहिले सांसदको रुपमा आवाज उठाउनु भएको थियो । अहिले स्वास्थ्यमन्त्री बन्नुभएको छ । अध्यादेश ल्याएर पनि यसलाई अगाडि बढाउन सक्नुहुुन्छ,’ उपाध्यायले भने ।



